स्वेडालाई एक्वायर गर्ने प्रक्रियामा रहेको मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा उल्लेख्य बढेको छ भने अन्य सूचकहरुमा पनि सोही अनुसारको सुधार देखिएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२४ प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ७७ लाख मात्र खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको नाफा उल्लेख्य बढेको हो। ९१ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ सापटीबाट २ अर्ब ५२ करोड २० लाख कर्जा लगानी गरेको यस लघुवित्तले पुस मसान्तसम्ममा १० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड २१ लाख रुपैयाँ बढी हो।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड १९ लाख रुपैयाँ बढेर ५ करोड ४० लाख पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.७१ प्रतिशतबाट बढेर १.४८ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा ९१ लाख ७८ हजार रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले १ करोड ९० लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको छ।
पुस मसान्तसम्ममा १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ।
किसान र नागबेली लघुवित्तसँग मर्जर भाँडिएपछि हाल यस लघुवित्तले स्वेडा लघुवित्तलाई एक्वायर गर्ने प्रक्रिया शुरु गरेको छ। प्राप्ति पश्चात यी दुई कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछ। प्राप्ति पश्चात बनेको संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ। यी दुबै कम्पनीले आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य लिएको छ।
गत बैशाख ३० गते मिर्मिरे, किसान र नागबेली लघुवित्तले एक आपसमा मर्जर गर्ने सम्झौता गरेका थिए। तीन कम्पनीहरुबिच स्वाप रेशियोको कुरा नमिलेपछि मर्जर भाँडिएको थियो। मर्जर सम्झौता गरेदेखि नै लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ।